कैलालीको वर्दगोरिया गाउँपालिकामा १५ शैयाको अस्पताल सञ्चालनमा, सर्पदंश उपचार पनि हुने

dhangadhitoday

धनगढी, २३ असार । कैलालीको वर्दगोरिया गाउँपालिकाले १५ शैयाको अस्पताल सञ्चालनमा ल्याएको छ । गाउँपालिकाको स्वास्थ्य शाखाले वि.स. २०७८ सालदेखि योजनाबद्ध रूपमा अघि बढाउँदै आएको स्वास्थ्य सेवा विस्तार अभियानअन्तर्गत यो सेवा सन्चालनमा ल्याएको हो ।

अस्पतालले २४ सै घण्टा सेवा दिने स्वास्थ्य शाखा प्रमुख मीन बहादुर धामीले जानकारी दिए । उनका अनुसार अस्पतालमा हाल आकस्मिक सेवा, सामान्य उपचारसँगै सर्पदंश उपचार सेवा पनि सुचारु गरिएको छ । “सर्पदंशको घटनालाई समयमै नियन्त्रण गर्न सकियो भने ज्यान जोगाउन सकिन्छ, त्यसैले यो सेवा सुरु गर्नुलाई हामीले प्राथमिकता दिएका हौं,” उनले भने ।

स्वास्थ्य सेवाको गुणस्तरमा गाउँपालिकाको नेतृत्वको विशेष भूमिका रहेको भन्दै धामीले अध्यक्ष, उपाध्यक्ष र स्थानीय जनप्रतिनिधिहरूको सक्रियता अत्यन्त सराहनीय रहेको उल्लेख गरे । “स्थानीय तहको अग्रसरता र समर्पणका कारण अहिले अस्पतालको सेवा प्रभावकारी बन्दै गएको छ,” उनले थपे ।

गाउँमै उपचारको सुविधा पाएपछि स्थानीयहरू हर्षित छन् । “पहिले सामान्य ज्वरो आए पनि लम्की वा धनगढी जानुपर्थ्यो,” एक स्थानीय महिला बताउँछिन्,“अब गाउँमै उपचार पाउँदा निकै खुसी भएका छौँ ।”

प्रमुख प्रशासकीय अधिकृत विक्रम श्रेष्ठले भने, “गाउँपालिकाले शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेको छ । सबैको सहयोग र सहभागिताबाट मात्रै समृद्ध गाउँपालिका सम्भव हुन्छ ।” उपाध्यक्ष गणेशराज गिरीले समेत स्वास्थ्य सेवा सुदृढीकरणलाई प्रमुख एजेण्डा बनाइएको उल्लेख गरे ।

प्रदेश र संघ सरकारको थप सहकार्य आवश्यक रहेको धामीले औंल्याउँदै अस्पताललाई अझ प्रभावकारी बनाउन पूर्वाधार विस्तार, उपकरण सुधार र दक्ष जनशक्तिको खाँचो रहेको बताए ।

परतिक्रिया

FaceBook Comment Plugins

Leave a Reply

Your email address will not be published. Required fields are marked *