कैलालीमा राज्यमन्त्रीकै घरमा चोरी

धनगढी टुडे समाचार डेस्क

धनगढी, ८ जेठ । नागरिक उन्मुक्ति पार्टीका नेता तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुण चौधरीको घरमा चोरी भएको छ । कैलालीको लम्कीचुहा नगरपालिका–४ बलियामा रहेको चौधरीको घरमा सुनचाँदीसहित करिब २० लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको बताइएको छ ।

चौधरीको घर विगत बैशाखदेखि बन्द रहेको र त्यस अवधिमा कोही बसोबास नगरेको जनाइएको छ । चोरी कहिले भएको भन्ने यकिन नभए पनि हिजोमात्रै घरमा पुग्दा चोरी भएको थाहा लागेको चौधरी पक्षको भनाइ छ ।

चोरले घरको ढोका फोडेर भित्र पसेर बहुमूल्य सुनचाँदीका गहना तथा नगद समेत लुटपाट गरेको प्रारम्भिक अनुमान गरिएको छ । घटनाबारे अनुसन्धान भइरहेको र प्रहरीले चोरीको प्रकृति तथा चोरको पहिचान गर्न खोजी तीव्र पारेको जनाएको छ ।

प्रहरीका अनुसार घटनास्थलको निरीक्षण गरी थप विवरण संकलन भइरहेको छ ।