फूलवारी बहुमुखी क्याम्पसलाई काठमाडौं विश्वविद्यालयको आंगिक क्याम्पस बनाउन पहल

Avatar
धनगढी टुडे समाचार डेस्क

धनगढी उपमहानगरपालिका वडा नम्बर १८ स्थित फूलवारी बहुमुखी क्याम्पसलाई काठमाडौं विश्वविद्यालयको आंगिक क्याम्पस बनाउन पहल सुरु गरिएको छ ।

धनगढी-१८ का वडाध्यक्ष भुवन रिजालले फूलवारी बहुमुखी क्याम्पसलाई काठमाडौं विश्वविद्यालयको आंगिक क्याम्पस बनाउन नगरपालिकाले पहल गरेकोले क्याम्पसबाट आवश्यक प्रक्रिया थाल्न र निर्णय गरी वडालाई पठाउन फूलवारी बहुमुखी क्याम्पसलाई पत्र लेख्दै जानकारी गराएका छन् ।

अध्यक्ष रिजालले धनगढी १८ को चन्द्रोदय माध्यामिक विद्यालयलाई नमुना विद्यालय बनाउने काम भैरहेको बताए । मोडेल विद्यालयमा पाठ्यक्रम कस्तो बनाउने र विद्यालयलाई कसरी राम्रो बनाउने भन्ने विषयमा धनगढी उपमहानगरपालिका र काठमाडौं विश्वविद्यालय बिचमा सहमति भएर कार्यक्रम तयार गर्न आएको विश्वविद्यालयको विज्ञ टोलिसंग आफुले फूलवारी बहुमुखी क्याम्पसलाई विश्वविद्यालयको आंगिक क्याम्पस बनाउन प्रस्ताव गरेको जानकारी दिए ।

क्याम्पसमा रहेका प्राध्यापक, कर्मचारीले लामो समय देखि तलब नपाएको, विद्यार्थीको भर्नाक्रम घट्दै गएर सिमित र संकुचित हुदै संकटापन्न अवस्थामा पुगेकाले क्याम्पसलाई विश्वविद्यालयको आंगिक बनाउन पहल सुरु गरिएको बताए । उनले विश्वविद्यालयको आंगिक क्याम्पस बनाएर प्राविधिक विषय पठनपाठन गरि सुदूरपश्चिम र लुम्बिनी प्रदेशका विद्यार्थीलाई आर्कषित गरि नयाँ तरिकाले संचालन गर्ने योजना सहित नगर प्रमुख गोपाल हमालसंग प्रस्ताव गरेको र मेयरले सर्मथन गर्दै विज्ञ टोलि र पदाधिकारीसंग प्रस्ताव गर्दा सकरात्मक प्रतिक्रिया आएको बताए ।

लुम्बिनी प्रदेशको नेपालगञ्जसंग नजिकको दूरीमा रहेको फुलवारीमा आंगिक क्याम्पस संचालन गरि विश्व बजारमा बिक्ने खालको शिक्षा दिन र जनशक्ति उत्पादन गर्न सकिने भएकाले सबैजना एकजुट भएर लाग्नुपर्ने भन्दै वडाध्यक्ष रिजालले अवसरलाई सदुपयोग गर्न सरोकारवाला सबैलाई सहयोगका लागि अनुरोध गरे । विश्वविद्यालयको पदाधिकारी टिमले छलफल गरि आवश्यक निर्णय गर्ने भनि सकरात्मक जवाफ दिएकाले फूलवारी क्याम्पसलाई आंगिक क्याम्पस बनाउन सकिने कुरामा आफू आशावादी रहेको बताए ।

प्रतिक्रिया

FaceBook Comment Plugins