सुदूरपश्चिम रोयल्सद्वारा धनगढीमा भव्य र्‍यालीको आयोजना

धनगढी टुडे समाचार डेस्क

धनगढी, ३ मंसिर । सुदूरपश्चिम रोयल्सले धनगढीमा सोमबार हजारौँको सहभागिताबीच भव्य र्‍यालीको आयोजना गरेको छ । रोयल्सले धनगढीको चौराहदेखि रंगशालासम्म आयोजना गरेको र्‍यालीमा हजारौँको सहभागिता रहेको थियो ।

र्‍यालीमा टोलीका मुख्य प्रशिक्षक जगत टमाटा, मार्की खेलाडी दिपेन्द्रसिंह ऐरी, आरिफ शेख, विनोद भण्डारी, इशान पाण्डे, अमित श्रेष्ठ लगायत खेलाडीको सहभागिता रहेको थियो ।

सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री मेघराज खड्का, नेपाल क्रिकेट संघ (क्यान) अध्यक्ष चतुरबहादुर चन्द, टोली मालिक स्वतन्त्र प्रताप शाह, ओलम्पियन तथा रोयल्सका ब्रान्ड एम्बेसडर दीपक विष्ट, फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदान एवं खेलग्राम पूर्वाधार निर्माण विकास समितिका अध्यक्ष सुवास शाही, लगायत क्यान कार्यसमिति सदस्यहरु, विभिन्न खेलका प्रदेश तथा जिल्ला संघका पदाधिकारी, खेलाडीहरु लगायत ठूलो संख्यामा स्थानीय सहभागिता रहेको थियो ।

र्‍यालीमा स्थानीय संस्कृति र वेशभूषा झल्कने झाँकीको पनि सहभागिता रहेको थियो । रोयल्सले समग्र सुदूरपश्चिम क्षेत्रको प्रतिनिधित्व गरेकाले यहाँको स्थानीय संस्कृतिलाई क्रिकेटको माध्यमबाट विश्वभर चिनाउने लक्ष्य रहेको प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले बताए । उनले र्‍यालीमा स्थानीय सहभागिताले टोलीको हौसला झनै बढेको र सुदूरपश्चिमको नाम उच्च बनाउन खेलाडीको मनोबल पनि बढेको महसुस गरेको जानकारी दिए ।

र्‍यालीको अन्त्य रंगशालास्थित कभर्ड हलमा एक कार्यक्रमबीच समापन भएको थियो । सुदूरपश्चिम रोयल्सले अब केही दिन धनगढीमै रहेर प्रशिक्षण गर्ने कार्यक्रम रहेको छ । क्यानको‌ आयोजनामा ८ टोलीको सहभागितामा मंसिर १५ देखि पुस ६ गते सम्म एनपिएल हुनेछ । सुदूरपश्चिमको मार्की खेलाडीमा कीर्तिमानी अलराउन्डर दीपेन्द्रसिंह ऐरी छन् । मेन्टरमा अष्ट्रेलियाका ब्राड हज तथा मुख्य प्रशिक्षक राष्ट्रिय टोलीका पूर्वप्रशिक्षक जगत टमाटा छन् ।

टोलीः दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, अभिनास बोहोरा, विनोद भण्डारी, अर्जुन कुमाल, खडक बोहोरा, इशान पाण्डे, नरेश बुढाऐर, भोजराज भट्ट, नरेन साउँद, अमित श्रेष्ठ, ब्रान्डन मक्मलेन (स्कटल्यान्ड), सेफ अलि जेब (इंग्ल्यान्ड), स्कट कुगेलेइन (न्युजिल्याण्ड), रोहन मुस्तफा (यूएई)

प्रतिक्रिया

FaceBook Comment Plugins