राष्ट्रिय सभा निर्वाचनका लागि आज मतदाता नामावली प्रकाशन गरिदै

धनगढी टुडे समाचार डेस्क

राष्ट्रिय सभा निर्वाचनका लागि आज मतदाता नामावली प्रकाशन गरिदैछ।

माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि निर्वाचन आयोगले आज मतदाता नामावली प्रकाशन गर्न लागेको हो।

राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सभा सदस्य, गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुख मतदाता हुन्छन्।

आयोगले पछिल्लो राष्ट्रिय जनगणनाअनुसार कूल जनसंख्यालाई आधार मानेर राष्ट्रिय सभा निर्वाचनका लागि यसपालि नयाँ मतभार कायम गरेको छ।

जसअनुसार प्रदेश सभा सदस्यको मतभार ५३ र नगर प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष र उपाध्यक्षको मतभार १९ तोकिएको छ।

आज बिहान १० बजेदेखि ११ बजेभित्र मतदाता नामावली प्रकाशन गरिसक्ने र त्यसमा आज दावी विरोधको उजुरी दिन ११ बजेदेखि दिउँसो ४ बजेसम्मको समय निर्धारण गरिएको छ।

उक्त दावी विरोधउपर छानबिन गरी आयोगले पुस २२ गते अन्तिम मतदाता नामावली प्रकाशन गर्नेछ।

पुस २३ गते उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने र सोही दिन अपराह्न ३ बजेदेखि ४ बजेसम्म उम्मेदवारको सूची प्रकाशन गर्ने तालिका छ।

पुस २४ गते उम्मेदवारको विरोधमा उजुरी दिन सकिने आयोगले जनाएको छ। पुस २५ र पुस २६ गते मनोनयन पत्र र उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने कार्यक्रम छ। पुस २६ गते उम्मेदवारको नामावली प्रकाशन हुनेछ।

पुस २७ गते उम्मेदवारको नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ भने पुस २८ गते उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरिनेछ।

माघ ११ गते बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्‍म मतदान गर्ने समय तोकिएको छ।

प्रतिक्रिया

FaceBook Comment Plugins