धनगढी, ११ असार । मलेसियामा जारी एसीसी यू-१६ इस्ट जोन क्रिकेट प्रतियोगितामा नेपालले अर्को उत्कृष्ट प्रदर्शन गर्दै जापानलाई सहजै ९ विकेटले पराजित गरेको छ। युवा टोलीले बलिङ र ब्याटिङ दुबै क्षेत्रमा आफ्नो पकड कायम राख्दै प्रतियोगिताको दोस्रो खेलमा प्रभावशाली जित निकालेको हो।
पहिले टस जितेर ब्याटिङ रोजेको जापान नेपाली बलरहरूको उत्कृष्ट प्रहारसामु टिक्न सकेन। पूरै ३४.३ ओभर खेलेर मात्र ८० रनमा जापानी टोली समेटियो। कप्तान चार्ली हाराहिन्जेले ३६ रनको योगदान दिए पनि बाँकी ब्याटरहरू निराशाजनक प्रदर्शनमा सीमित रहे। नेपालका लागि शुभम खनाल असाधारण रहे। उनले १० ओभरको स्पेलमा केवल १५ रन खर्चेर ५ विकेट लिँदै जापानको पारी धराशायी बनाए। अभय यादवले २ विकेट झार्दा सुशील रावल र कप्तान बिपिन प्रसाद शर्माले समान १–१ विकेट हात पारे।
सस्तो लक्ष्य पछ्याउन ओपनिङमा जोए थापा चाँडै आउट भए पनि शिवांश बजगाइ र प्रसिद्ध जैसीको संयमित खेलले नेपाललाई सहज विजय दिलायो। दुबै ब्याटरले दोहोरो साझेदारी गर्दै विपक्षी बलरहरूलाई कुनै मौका नै दिएनन्। शिवांशले ४२ बलमा ७ चौका प्रहार गर्दै ३८ रन बनाए भने प्रसिद्धले ३ चौकासहित ३३ रन जोडे। नेपालको पारी १४.२ ओभरमै ८१ रन पुर्याउँदै टुंगियो। यसबीच जापानका लागि केवल काइसेई डोगेले एक मात्र विकेट लिन सफल भए।
नेपालको यो लगातार दोस्रो जित हो। पहिलो खेलमा सिंगापुरलाई ५ विकेटले हराएको नेपालले अब २ खेलबाट ४ अंक जोडेको छ र समूह ए मा शीर्ष स्थानमा उक्लिएको छ। जापान भने एक जितसहित २ अंकमा दोस्रो स्थानमा रहेको छ। नेपालले अब आफ्नो तेस्रो खेल २९ जुनमा इन्डोनेसियासँग खेल्नेछ। समूह ए मा नेपालसहित जापान, सिंगापुर, भुटान र इन्डोनेसिया रहेका छन् भने प्रतियोगितामा जम्मा १० टोलीको सहभागिता छ।
नेपालको यु-१६ टोलीले प्रतियोगिताको शुरुवातमै देखाएको लय उत्साहजनक छ। बलिङ र ब्याटिङमा सामूहिक प्रदर्शन देखिएको यस जितले नेपाली क्रिकेटको भविष्य उज्यालो बनाउने संकेत गरेको छ। युवा खेलाडीहरूको यस्तो सशक्त प्रदर्शनले नेपाली क्रिकेट समर्थकमा नयाँ ऊर्जा भरेको छ।
Khoj Samachar बाट
प्रतिक्रिया
FaceBook Comment Plugins