राष्ट्रियसभा निर्वाचन: आजदेखि प्रचारप्रसार निषेध

Avatar
धनगढी टुडे समाचार डेस्क

निर्वाचन आयोगले गएराति १२ बजेपछि मतदानकार्य समाप्त नहुञ्जेलसम्म प्रचारप्रसार निषेध अवधि लागू गरेको छ ।


यस अवधिमा राजनीतिक दलका पदाधिकारी, उम्मेदवार, दलका भ्रातृसङ्गठन तथा आचारसंहिता पालना गर्नुपर्ने अन्य व्यक्ति, संस्था वा निकायले निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तक्र्रिया, सभासम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न हुँदैन ।


आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले उक्त अवधिमा कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नहुने, सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसारका सामग्री पोष्ट वा शेयर गर्न वा गराउन नहुने भएकाले सोबमोजिम आचरण पालना गर्न गराउन अनुरोध गरेका छन् ।

राष्ट्रियसभाका १९ सदस्यको पद आगामी फागुन २१ गतेदेखि सकिँदैछ । कार्यकाल सकिनु एक महिनाअघि निर्वाचन गरिनुपर्ने कानुनी व्यवस्था रहेको छ । जसअनुसार माघ ११ गते निर्वाचन हुन लागेको हो ।

प्रतिक्रिया

FaceBook Comment Plugins